२०८१ श्रावण १२

फिलिपिन्स सरकारद्धारा १८० चिनियाँलाई देशनिकाला

काठमाण्डौं, फिलिपिन्स सरकारले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देशनिकाला गरेका छन् ।
अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट सञ्चालित भवनमा फेला परेको थियो । उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । छापा मार्ने क्रममा धेरै महिलाको ‘उद्धार’ गरिएको प्रहरीले बताएको छ ।


चिनियाँ नागरिकसँग वर्क परमिट (काम गर्ने अनुमति) थिएन र उनीहरू ‘अनलाइन घोटालामा संलग्न रहेको राष्ट्रपतिको सङ्गठित अपराधविरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले बताए । पक्राउ परेका थप विदेशीहरूलाई आगामी साताहरूमा देशनिकाला गरिने जनाइएको छ ।
फिलिपिन्सका सिनेटर रिसा होन्टिभेरोसले फिलिपिन्समा ‘घोटाला कल सेन्टर’ सञ्चालन भइरहेको र मुलुकमा बेचबिखन गरी ल्याइएका विदेशीहरूलाई ती कल सेन्टरले रोजगारी दिन्छन् भनेर यसअघि नै चेतावनी दिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले सन् २०२३ मानव तस्करी प्रतिवेदनमा फिलिपिन्सले मुलुकभित्र हुने गरेको श्रम तस्करी अपराधहरूको कडा अनुसन्धान वा मुद्दा चलाएको छैन भनेको छ । “भ्रष्टाचार र तस्करीको अपराधहरूमा आधिकारिक संलग्नता महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ”, प्रतिवेदनमा भनिएको छ ।