२०८१ श्रावण १२

तीन इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणबाट इन्टरनेट (इ–मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।
खारेजीमा परेका सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।
ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।