२०८१ श्रावण १२

डा. शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौं, नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ ।
नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक ढाकेका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो । नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन् । यसमा कांग्रेसका शीर्ष नेता सहमत देखिन्छन् ।
यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे पनि इतर समूहले आज आफ्नो रणनीति बनाउने नेताहरुको भनाइछ । गठबन्धनमा कांग्रेसले बढीमा १० सिट पाउँदा इतर पक्षले तीन सिटमा सशक्त दाबी गर्ने छ ।