२०८१ श्रावण १२

जनकपुरधाम विवाहपञ्चमी पर्व सुरु, माछा–मासु र मदिरा निषेध

जनकपुरधाममा (आज) मंगलबारदेखि विवाहपञ्चमी महोत्सव सुरू भएको छ ।
भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमी भव्य बनाउन जानकी मन्दिर झकिझकाउ बनाइँदैछ भने रंगभूमी मैदान वरिपरि सरसफाइ गरिँदैछ । गिनिज बुकमा रेकर्ड दर्ज गराउन रंगभूमी मैदानमा ११ हजार फिटको अन्नबाट रामसीताको मूर्ति निर्माण गरिँदैछ ।
महोत्सवको आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा एकजना बालकलाई राम र बालिकालाई सीताको स्वरूप बनाइ नगरदर्शन गराइनेछ।
दोश्रो दिन, बुधबार फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाहोत्सव कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्तलाई बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामले मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जनकपुरधाम क्षेत्रमा माछा, मासु र मदिरा निषेध गर्ने निर्णय भएको प्रमुख जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरी जनाएको छ । सूचनाविपरीत निषेधित क्षेत्रमा माछा, मासु र मदिरा खरिद विक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने प्रशासन कार्यालयले चेतावनी दिएको छ ।