२०८१ श्रावण १२

मेचीनगरका ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गरे

झापा, झापाको मेचीनगर नगरपालिकामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले धनिपूर्जा पाउने भएका छन् ।
नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई सोमबारदेखि जग्गाको निस्सा वितरण कार्य सुरु गरेसंगै उनीहरुले धनिपूर्जा पाउने बाटो खुलेको हो । नगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् । उनीहरु सबैले वडागत रुपमा मंसिर २५ गतेदेखि २९ गतेसम्ममा जग्गाको निस्सा प्राप्त गर्ने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको बताए ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न नगरपालिकाले बिगत एक बर्ष अघिदेखि ३ जना लगत प्रविष्टकर्ता, ४ जना फिल्ड सहयोगी र १ जना अमिनलाई निरन्तर खटाइरहेको छ । मंसिर २५ गतेदेखि सुरु भएको निस्सा वितरण कार्यक्रम यहि मंसिर २९ गते सम्ममा सकिनेछ । फर्म भर्न छुटेका, कागज नमिलेका, नामहरु सच्याउनु पर्ने लगायतका काम १५ दिनसम्मको समय दिइएको नगरपालिकाले जनाएको छ ।