२०८१ श्रावण १२

विपिन जोशीको रिहाइमा चाँडै सकारात्मक परिणाम आउन सक्छ : प्रधानमन्त्री अल–थानी

काठमाडौँ, प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताएको छ ।
जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको प्रधानमन्त्रीले शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताएका हुन् । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा थानीले यस्तो बताएका हुन् । कतारको राजधानी दोहामा भएको शिष्टाचार भेटमा साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेका थिए ।


परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँगको नेपाल सरकारले उच्च आशा गरेको बताएका थिए ।
जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको र चाँडै सकारात्मक परिणाम आउन सक्ने सङ्केत गरेका हुन् ।
परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेश मन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम–२०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका छन् ।