२०८१ श्रावण १२

भाटभटेनीबाट प्लास्टिकको ‘क्रिसमस ट्री’ महानगरले हटायो

काठमाडौँ, काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ ।
प्लास्टिकबाट बनेका फूलका माला, रुख, लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार शनिवार महानगर प्रहरी बलले सुपरमार्केटमा पुगेर प्लास्टिकको रुख हटाएको सई राजेन्द्र गजुरेलले जानकारी दिए ।


यस्तै महानगरपालिका भित्रका अन्य स्थानहरूमा त्यस्ता सामग्री राखिएकोबारे बुझ्नका लागि नगर प्रहरीले अनुगमनको काम पनि गरिरहेको उनले बताए । शुक्रबार नगर प्रहरी बलले अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सिटी सेन्टर लगायतका ठुला सपिङ मलमा सजाइएका प्लास्टिकको रुख हटाएको थियो ।
सई गजुरेलले भने–‘हामीले प्लास्टिकका रुख मात्र हटाएका हौँ, क्रिसमस ट्री हटाएको होइन । प्लास्टिकबाट बनाएका माला, रुख लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार त्यस्ता सामग्री हटाएका हौँ । सबैभन्दा पहिला हामी त्यस्ता सामग्री राख्ने व्यक्तिलाई नै हटाउन अनुरोध गर्छौँ । नहटाएमा मात्रै हामीले हटाउने गरेका छौँ ।’
महानगरपालिकाले गएको तिहारमा पनि प्लास्टिकबाट बनेका फूलका माला बिक्री वितरणमा रोक लगाएको थियो ।