२०८१ श्रावण १२

हेटौँडामा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

मकवानपुर, मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कार्यालय परिसरमा हतियारसहित पक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वर्ष ३३ का निश्चल पौडेल, वर्ष ३५ को गणेश घले र वर्ष ३० को प्रितम क्षेत्रीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरूलाई एक थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित हेटौँडा १० बाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । सोमबार राति हेटौँडा ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहारको घटना भएको थियो । घटनापछि मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान तथा घटनामा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरूलाई शुक्रबार पक्राउ गरेको थियो ।
पेस्तोल एक थान, पेस्तोलमा लाग्ने गोली १९ राउण्ड, लो लो लेखेको एक राउण्ड गोली र हतियार सफा गर्ने रड एक थान बरामद भएको जानकारी दिनुभयो। साथै लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ दुई ग्राम चार सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु दुई थान, घटनामा प्रयोग भएको ना २५ प ३३०५ नं. सिवि युनिकर्न मोटरसाइकल एक थान, ना ६३प ९६७८ नं. को मोटरसाइकल एक थान, मोबाइल पाँच थान, नगद ५० हजार र घटनामा प्रयोग भएको कपडा एक थान बरामद गरिएको प्रहरी उपरीक्षक रिजालले पत्रकार सम्मेलनमा जानकारी दिइए ।