२०८१ श्रावण १२

इरानी राष्ट्रपति रुसमा : इजरायली आक्रमण नियन्त्रणको प्रयास मुख्य विषय

काठमाण्डौं,  इरानी राष्ट्रपति इब्राहिम रायसीले रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताए ।
रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा तेहरानबाट रुसको राजधानी मस्को जानुअघि पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति रायसीले उक्त टिप्पणी गरेकोे राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इरानी राष्ट्रपतिले आफ्नो भ्रमणको उद्देश्य गाजाको घेराबन्दी हटाउने, तटीय क्षेत्रका मानिसलाई मानवीय सहायता पु¥याउने तथा प्यालेस्टाइनीहरूको ‘अपरिहार्य’ अधिकारको रक्षा गर्नेलगायतका मुख्य विषयमा विचार आदानप्रदान गर्नु रहेको बताएका छन् । यी मुद्दाहरूमा अन्य देशसँग पनि आवश्यक छलफल हुने उनले उल्लेख गरेका छन् ।


युरेसियन इकोनोमिक युनियन, साङ्घाई सहयोग संगठन र ब्रिक्सलगायतका संस्थाले इरान र रुसबीचको द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीयतामा आधारित अन्य क्षेत्रीय तथा समान विचारधाराका देशहरूसँगको सम्बन्ध सुधार्ने आधार तय गरेको उनको भनाइ छ ।
बिहीबारदेखि प्यालेस्टाइनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) र इजरायलबीचको घातक द्वन्द्व तेस्रो महिनामा प्रवेश गरेको छ । उक्त द्वन्द्वबाट १७ हजार एक सय ७७ जना प्यालेस्टाइनी तथा इजरायली पक्षका एक हजार दुई सय जनाले ज्यान गुमाएका छन् ।