२०८१ श्रावण १२

क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्छ: स्वास्थ्य मन्त्री

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताका छन् ।
सार्क फेडरेसन अफ अंकोलोजिस्टस् र सार्क फेडरेसन अफ अंकोलोजिस्टस् नेपालले आयोजनामा राजधानीमा शुक्रवारदेखि सुरु गरेकोे १८ औँ सार्क फेडरेसन अफ अंकोलोजिस्टस् क्यान्सर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले क्यान्सर न्यूनीकरणका लागि सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने बताएका हुन् ।
विगतमा क्यान्सर भनेपछि निको नै नहुने रोगका रूपमा चित्रण गरिएको भए पनि वर्तमान अवस्थामा विज्ञहरूको मेहनत र नयाँ खोज अनुसन्धानले क्यान्सर पनि उपचार पछि निको हुने रोगको रूपमा लिन थालिएको बताउँदै मन्त्री बस्नेतले सार्क राष्ट्रका विज्ञहरूले आपसी अनुभव आदान प्रदान र उपचार विधिका विषयमा गहन छलफल गरेर ठोस परिणाम निकाल्न सक्ने विश्वास व्यक्त गरे । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै प्रयास अगाडि सारेको बताउँदै मन्त्री बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले मृत्युवरण गर्न नपरोस् भन्ने अभिप्रायले काम गरिरहेको दाबी समेत गरे ।
कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले क्यान्सर विज्ञहरूकै मेहनतका कारण आफूले क्यान्सरमाथि विजय प्राप्त गरेको बताए । वरिष्ठ क्यान्सर रोग विज्ञहरू डा मदनकुमार पिया, डा विवेक आचार्य र डा सन्ध्या चापागाईँ लगायतले क्यान्सर विरुद्धको लडाइँमा सार्क देशका विज्ञहरूको संयुक्त पहल आवश्यक परेको बताएका थिए ।
सन् २००१ मा स्थापना भएको यो संस्थाले पालै पालो सार्क देशहरुमा सम्मेलन आयोजना गर्दै आइरहेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्टसको आगामी १९ औँ सम्मेलन बंगालादेशको ढाकामा आयोजना हुने छ । शुक्रवार सुरु भएको सम्मेलन तिन दिनसम्म चल्ने छ ।