२०८१ श्रावण १२

नेपालले ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्ने ।

काठमाडौं, बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ ।
बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।
नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने खुलाइएको छैन । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे छलफल हुने समाचारमा उल्लेख छ ।
विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको बताएका थिए । राजनीतिक र कर्मचारीको तहमा लामो छलफलपछि भारतले आफ्नो प्रसारण लाइन प्रयोग गरेर बंगलादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाइसकेको छ ।


नेपालबाट बंगलादेशमा विद्युत बेच्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ । एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ । गत २ जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो ।
साउन २०७७ मा नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिइसकेको छ । वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ ।


साउन २०७५ मा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ । बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने तयारी छ ।