२०८१ श्रावण १२

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार ः उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसघको अनुरोधमा १० हजारसम्म नेपाली सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
घानाको आक्रामकमा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापना सम्बन्धी संयुक्त राष्ट्रसघीय मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए ।
सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिंदै संयुक्त राष्ट्रका महासचिवको पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताए । सम्मेलनले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ ।
“हामीले हाम्रा सैनिकहरूलाई जस्तो सुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौँ । हामी विश्वस्त गर्छौँ, हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन्, र हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य–सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौँ”, उपप्रधानमन्त्री खड्काले भने ।
नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी–पीसीसी लगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबिच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्दछ । शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।


उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले नेपाल इओडी इहाई, एकल इकाई, रेकी इकाई, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता ब्यक्त गरे ।
हामी हाम्रो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यसका प्रशिक्षकहरूलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना तालिम सञ्चालन गर्न तत्पर छौँ । नेपालले आईटीएस, डीपीओलाई यूएनएममओ कोर्सको लागि सिमुलेशन सफ्टवेयर प्रदान गर्दै आएको पनि स्मरण पारे ।
नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिकहरू तैनाथी गरी दोस्रो ठुलो शान्ति सेना र प्रहरी खटाउने देशका रूपमा रहेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् ।


‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ हिजा (मंगलबार)ेदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधिमण्डलको सहभागिता छ । उपप्रधानमन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य मंगलबार साँझ घानाका उपराष्ट्रपति बहुमियाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भए ।
सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्व शान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोगका साथै सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।