२०८१ श्रावण १२

काठमाण्डौको वायु प्रदूषण मात्रा बढ्दो, बुधबार सबैभन्दा प्रदूषित सहर हेटौंडा

काठमाडौं, काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा वायु प्रदूषणको मात्रा एक सय एक्यूआई भन्दा बढी रहेकोे छ ।
वातावरण विभागको वायु प्रदूषण सूचक यन्त्रमा बुधबार सबैभन्दा प्रदूषित सहर हेटौंडा देखिएको छ । हेटौंडामा प्रदूषणको मात्रा १५१ एक्यूआई पुगेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाका शंखपार्क, कीर्तिपुर, रत्नपार्क, खुमलटार, पुलचोकलगायत स्थानमा प्रदूषणको मात्रा १०५ देखि ११९ एक्यूआईसम्म पुगेको थियो ।
अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांक अनुसार पुलचोकमा १०७ एक्यूआई छ । त्यस्तै शंखपार्कमा ९६, कीर्तिपुरमा ९२, रत्नपार्कमा ८६ र खुमलटारमा ७९ एक्यूआई रेकर्ड भएको छ ।


विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारे एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति स्वास्थ्यका लागि घातक हुने संगठनले जनाएको छ ।
एक्यूआई (एयर क्वालिटी इन्डेक्स) मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदुषण विज्ञ भुषण तुलाधार बताउँछन् ।
यदि, काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुने हो भने औसत आयु ४.६ वर्षले बढ्ने तुलाधारको भनाइ छ । वायुको गुणस्तर ३० प्रतिशत मात्रै सुधार गर्ने हो भने पनि १.२ वर्ष आयु बढ्न सक्ने उनी बताउँछन् ।