२०८१ श्रावण १२

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच फोन वार्ता, वार्ता इजरायल–हमास युद्धमा केन्द्रीत

काठमाण्डौं, चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहो¥याएका थिए । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लालसागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाउने भएका छन् । विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानुनका लागि अस्वीकार्य खतरा हो भनेका छन् । उक्त कानुनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनकोे भनाइ छ ।

बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजरायल र हमासबीचको युद्धको सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहानलाई रोक्नु र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेको’ मा जोड दिएका छन् । विदेश मन्त्रालयका अनुसार वाङले भने “प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसङ्गतता देखाउनुपर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ ।”


उनले द्वन्द्वग्रस्त दुई राज्यको समाधानका लागि बेइजिङको आह्वानलाई दोहो¥याउदैं प्यालेस्टिनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बित गर्नुपर्ने बताए ।चीन इजरायल–हमास बिचको युद्ध रोक्ने प्रयास गर्नका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार रहे पनि बताए ।