२०८१ श्रावण १२

लेखा समितिको बैठक अपराहन्न २ बजे बस्ने, मुख्य एजेण्डा एनसेलको शेयर बिक्री

काठमाडौं, एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आज दिउँसो २ बजेका लागि बैठक बस्ने तय भएको छ ।
एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्रीका क्रममा कानुनी प्रक्रिया मिचिएको वा कर छली भएको हुनसक्ने भन्दै सार्वजनिक लेखा समितिले यसबारे प्रारम्भिक छलफल गर्न लागिएको समिति सचिव गिरिले बताए ।
समिति सभापति श्रषिकेश पोखरेलका अनुसार एनसेलको शेयर बिक्री छानबिन नै गर्ने तयारीमा सार्वजनिक लेखा समिति छ । नियामक निकायबाट विवरणहरु मगाएर त्यसमाथि अध्ययन गर्न लागेको हो । यसअघि सार्वजनिक लेखा समितिले एनसेलको शेयर बिक्रीमा कर छली भएको आशंका गर्दै नियामक निकायहरुलाई पत्र लेखेको थियो । नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागलाई लेखिएको पत्रमा विभिन्न ९ वटा प्रश्नहरु छन् ।
एनसेलको शेयर बिक्रीले सेवा प्रवाहमा कस्तो असर पर्छ ? राजस्व र आयकरमा कुनै असर हुन्छ कि हुँदैन ? हक हस्तान्तरणमा विधि मिचिएको हो कि होइन ? लगायतका प्रश्नहरु सोधिएको छ ।