२०८१ श्रावण १२

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन २०८१ साल जेठमा, माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा गर्ने भएको छ ।
मंगलवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुनेगरी मिति सारिएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिए।
त्यसैगरी बैठकले पार्टीको महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनहरुको मस्यौदा तयार पार्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको २७ सदस्यीय मस्यौदा कमिटी पनि बनाएको छ । पार्टीका पदाधिकारीसहितका नेताहरुलाई सो मस्यौदा कमिटीमा राखिएको पनि तुलाधरले बताए ।
नेकपा एकीकृत समाजवादीले माघ १४ र १५ गते भने पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसैगरी सो राष्ट्रिय सम्मेलनको व्यवस्थानका लागि उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा अर्को एउटा कमिटी पनि बनाइएको छ । मंसिरको २८ र २९ गते पुनः सचिवालयको बैठक पनि बोलाउने निर्णय गरिएको छ । पुस नौ गते स्थायी कमिटी, १० गते पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटीको बैठक बसी राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा प्रश्तुत हुने एजेण्डाबारे छलफल गर्ने निर्णय पनि बैठकले गरेको उपमहासचिव तुलाधरले बताए ।
सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ।