२०८१ श्रावण १२

रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ, हरि बिक र सुजाता दाहाल मुख्य एजेन्ट भएको प्रहरीको दाबी ।

काठमाडौं, नेपाली युवा–युवतीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाउने ठूलो गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको विभिन्न ठाउँबाट गिरोहलाइ पक्राउ गरिएको जानकारी प्रहरी जानकारी दियो । “हालसम्म १२ जना पक्राउ परेका छन् । अझै अनुसन्धान र खोजी जारी छ ।” पक्राउ परेकामध्ये हरि बिक र सुजाता दाहाल मुख्य एजेन्ट भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालीलाई भारतको दिल्ली हुँदै रुस पठाउने गरेको पाइएको छ । नेपालस्थित् भारतीय दुतावासबाट ‘नो अब्जेक्सन लेटर’ बनाएर दिल्लीबाट रुस पठाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको दाबी छ ।
नेपाल प्रहरीले भारतीय दुतावाससँग समेत यस विषयमा छलफल गरेको छ । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट ‘भिजिट भिसा’मा जाने नेपालीमाथि कडाई गर्न थालेपछि भारत हुँदै अन्य मुलुक पठाउने गरेको खुलेको हो ।
मानव तस्कर समूहले रुस पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा भर्ती हुन ५३ नेपाली दिल्ली हुँदै रुस गएको सूचना आफूसँग रहेको बताएका थिए ।
परराष्ट्र मन्त्रालयले सोमबार रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि गरेको थियो । प्रहरीले मृत्यु भएका दुई जनालाई समेत पक्राउ परेकै समूहले पठाएको दाबी गरेको छ । यसरी अवैध बाटोबाट रुप पठाउने समूहमा केही नेपाली सेनाका अवकाशप्राप्त व्यक्तिहरू संलग्न रहेको प्रहरीको दाबी छ ।
प्रहरीले प्रधानमन्त्री कार्यालयलाई मंगलबार रुस पठाउने समूह पक्राउबारे रिपोर्ट गरेका छन् । प्रहरीमा कुनै पनि पीडितले उजुरी नदिएका कारण उनीहरूमाथि अभद्र व्यवहारमा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले पक्रउ परेकामाथि अनुसन्धान गर्न प्रहरीको मानव बेचबिखन ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी गरी तीनवटै निकायलाई निर्देशन दिएको छ ।