२०८१ श्रावण १२

सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव पूर्वी नेपालमा पनि पर्ने, विमान उडान÷अवतरण प्रभावित हुनसक्ने

काठमाडौं, देशको पूर्वी भू–भागमा बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।
‘मिचाउङ’को प्रभाव देशको पूर्वी भागमा बढी रहेको मौसमविद् सञ्जिव अधिकारीले बताए । “मिचाउङको असर पश्चिम र मध्य नेपालमा खासै पर्ने देखिँदैन, “तर पूर्वी नेपालमा भने यसले हावाको गती बढाइरहेको छ ।” हावाको गती बढाउँदा यसले पूर्वी नेपालका भद्रपुर र विराटनगर विमानस्थलबाट हुने उडान प्रभावित हुनसक्ने मौसमविद् अधिकारी बताउँछन् । तीव्र गतिमा हावा चल्ने भएकाले विमान उडान र अवतरणमा समस्या हुनसक्ने उनको भनाइ छ । “मिचाउङको प्रभाव र भोलिसम्म रहनेछ । त्यसपछि यसको प्रभाव कम हुँदै जाने छ भने पानी भने नपार्ने मौसमविद अधिकारीले बताए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र लुम्बिनी प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वाग्मतीका केही स्थानमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन,” मौसमविद् अधिकारीले भने ।
आज राती कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातसँगै देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।