२०८१ श्रावण १२

आठौं पर्वतीय महोत्सव ५ दिनसम्म चल्ने, मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरामा हुने

गण्डकी, आठौं पर्वतीय महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरामा हुने भएको छ ।
पोखराको रातोपैरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा परिसरमा महोत्सव हुनेछ । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस घोषणा गरेपछी नेपाल पर्वतारोहण संघले विगत ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आइरहेको छ।
महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहने महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए ।
उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् । विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउने उनको भनाइ छ ।
महोत्सवको पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ। महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् ।
महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् ।
प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको सदस्य सचिव न्यौपानेले बताइन ।