भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गयो
काठमाण्डौ – भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली जाजरकोट पुग्नु भएको छ ।
प्रधानमन्त्री दाहाल नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानु भएको हो । साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ ।
यसैगरी, प्रधानमन्त्री दाहालले सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनु भएको छ ।
गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि धनजनको ठूलो क्षति भएको छ
प्रतिक्रिया दिनुहोस्