२०८३ आश्विन १८

आजदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन शुरु ।

काठमाण्डौँ, आजदेखि नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु हुँदैछ ।
“परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प” भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
राष्ट्रिय महाअधिवेशन अन्र्गतको पहिलो कार्यक्रम उद्घाटन कार्यक्रम आज दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाअधिवेशनमा सहभागीहुन अधिकांश जिल्लाका नेता, महाअधिवेशन प्रतिनिधि र कार्यकता काठमाण्डौँ आइसकेका छन । ‘
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।
निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।
महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता चालिसेले बताए । ‘सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिहरू यसपटकको महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ,’ उनले भने, ‘जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो हो ।’
रास्वपा लगायत राजनीतिक दललाई निम्तो
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै प्रतिपक्षमा रहेका नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरूलाई आमन्त्रण गरेको छ ।

यस्तै, छिमेकी मुलुकहरू भारत–चीनसँगै अमेरिकालगायतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको छ । तर, उद्घाटन समारोहको तिथि–मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति न्यून रहने सम्भावना रहेको कांग्रेसले जनाएको छ । महाअधिवेशनमा सहभागीहुन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।