२०८३ आश्विन १५

मनाङको हिमलुङ हिमालमा थप तीन शव भेटियो ।

चामे, मनाङको नार्पाभूमि गाउँउपालिका–५ मा रहेको हिमलुङ हिमालको हिमपहिरोमा हराएकामध्ये थप तीन जनाको शव बुधबार फेला परेको छ ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बुधबार पौने ५ बजेतिर हिमलुङ आधार शिविरबाट तीन वटा शव चामे ल्याइएको जानकारी दिए । “अहिले तीन शव ल्याइएको छ, ती शव आज (बिहीबार) बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिदैँछ,” उहाँले भन्नुभयो ।
बुधबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–२ का ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–३ का २१ वर्षीय सुरज राई र रुकुमको साविक हुकाम गाविस वडा नम्बर–७ का ५७ वर्षीय कलम बुढाको शव भेटिएको हो ।
हिमपहिरोमा हिमालयन होलिडे कम्पनीका बिर्खध्वज तामाङ, जगत तामाङ, लकबहादुर गुरुङ, नग्मा दोर्जे, पासाङ नुरी शेर्पा, सन्तवीर तामाङ र उक्रध्वज तामाङ अझै सम्पर्कमा आएका छैनन् । हिमलुङ हिमपहिरोमा इक्पिडिसन इमाजिन कम्पनीका कृते गुरुङ पनि सम्पर्कविहीन भएका छन् ।
नेपाल नेशनल माउन्टेन गाइड एसोसियसनको उद्धार टोलीले शव फेला पारेको हो । एसोसियसनका अध्यक्ष तुलसिंह गुरुङले बुधबार तीन शव भेटिएको जनाउँदै खोजी अभियान जारी राखिने बताए । अचानक हिमपहिरो आउँदा टोलीका सदस्यहरू पुरिएको अध्यक्ष गुरुङले बताए ।
“हिमपहिरोबाट आज तीन शव निकालेका छौँ । पहिरामा हराएकाहरूको खोजीमा सबै सामथ्र्यसहित लागेका छौँ ।” यसअघि आइतबार संखुवासभाको भोटखोला गाउँपालिका–३ का छेवी भोटे र भोटखोला–२ का पासाङ भोटेको शव भेटिएको थियो ।
सोमबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–२ का ३० वर्षी
य वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–९ का घनश्याम राईको शव फेला पारिएको थियो ।
मनाङको नार्पाभूमी गाउँपालिका वडा नम्बर–५ को हिमलुङ हिमाल सगरमाथा आरोहणअघि चढिने लोकप्रिय हिमाल हो ।