२०८३ आश्विन १०

उच्च सर्तकता अपनाउन माननिय टेक बहादुर गुरुङको अपिल ।

मनाङ, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङले असोज ९ देखि ११ गतेसम्म सम्पूर्ण मनाङ जिल्लावासी आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी तथा मनाङ आउने आन्तरिक तथा बाह्य सबै पर्यटकहरुलाई सर्तक रहन÷अपनाउन आग्रह गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थान लगायत गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षा र अतिभारी बर्षा हुने जनाएकाले मनाङ जिल्लामा पनि बाढी, पहिरो र ढुबान हुन सक्ने सम्भावित खतराबाट बच्न र न्यूनिकरणका लागि सर्तकता नै सबैभन्दा ठूलो उपाय भएकाले उक्त अविधभर उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । सांसद गुरुङले उक्त अवधिभर सकेसम्म लामो दुरीको यात्रा समेत नगर्न जिल्लावासीमा अनुरोध गरेका छन् ।
मनाङ जिल्लामा पर्यटकीय समय पनि शुरु भइसकेकाले मनाङ घुम्न आउने पर्यटकहरुलाई पनि उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । त्यसैगरी, सांसद गुरुङले स्थानिय सरकार, जनप्रतिनिधिहरुले आ–आप्mनो वडावासीलाई सर्तकता अपनाउन र सूचना प्रवाह गर्न समन्वयकारी भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ ।


यसैगरी, जिल्ला प्रशासन कार्यालय मनाङले भारी वर्षा हुने समयमा पर्यटकलाई घुमफिरमा सावधानी अपनाउन आग्रह गरेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) को मनाङ र धारापानी चेकपोष्टबाट पर्यटकलाई सतर्कता अपनाउन निर्देशन गरिएको बताए । भारी हिमपात भएमा मुस्ताङ प्रशासनसँग समन्वय गरेर अन्नपूर्ण पदमार्गको थोरङ्ला भञ्याङ मार्ग पनि बन्द उहाँले बताए । त्यसैगरी, जिल्लाका सबै पालिका र वडाहरु, सुरक्षा निकायहरुलाई पूर्ण बन्दोबस्तीका साथ तयारी अवस्थामा राखिएको उनले बताए ।
उता, जिल्ला प्रशासन कार्यालय लमजुङले सदरमुकाम बेंसीसहरदेखि मनाङको सीमाना म्र्यादी खोलसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–मनाङ सडक खण्डमा शुक्रबारदेखि आइतबारसम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको हो ।
बेंसीसहर–चामे सडक खण्डका विभिन्न स्थानमा सामान्य वर्षामै पहिरो जाने समस्या रहेकाले ठुलो वर्षा हुँदा जोखिम थप बढ्न सक्ने प्रशासनले जनाएको छ । सडकमा बाढीपहिरो आउन सक्ने भएकाले दिनको समयमा यात्रा गर्दा पनि विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
लमजुङ जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न रातको समय सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले जानकारी दिए ।
भारी वर्षा भएमा बेंसीसहर–चामे सडक, मध्यपहाडी लोकमार्ग, डुम्रे–बेंसीसहर सडकसहित ग्रामीण सडकमा पहिरोको जोखिम बढ्ने प्रशासनले जनाएको छ ।