हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु ।
सामागॉउ, गोरखा– हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो ।
सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।
तेस्रो शिविरमा टेण्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव आज (सोमबार) हेलिकप्टरबाट काठमाण्डौँ लैजाने तयारी भएको छ ।
मनास्लुमा यस याममा मृत्यु हुनेको सख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको र नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो । मनास्लु आरोहणका लागि यस याममा ४ सय ८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ । आरोहीहरु आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्