२०८२ चैत्र ६

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने : मौसम विभाग

काठमाण्डौँ, पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव बढ्दा आज र भोली देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी, कोसी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
विभागले आज राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ ÷असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।
आजबाट दाङ र नेपालगन्जसहित लुम्बिनीका तराई क्षेत्रआसपासका जिल्लामा तथा भोलि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको अवधि रहेकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायत जोखिम रहने पनि विभागले जनाएको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।