मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
काठमाण्डौँ, फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ ।
निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणका सम्बन्धमा आयोगले स्मरण गराएको छ ।
मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न निर्देश गरिएको छ ।
निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा सोही ऐनको अधिनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ ।
प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने भनी तोकिएका कार्यहरू नगर्न र नगराउन आयोगले अनुरोध गरेको छ ।
-
१
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
२
बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
३
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।
-
४
आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई २५ हजार रुपैयाँ जरिवाना ।


प्रतिक्रिया दिनुहोस्