आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई २५ हजार रुपैयाँ जरिवाना ।
काठमायडौँ, निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, आयोगले श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत निर्वाचन आयुक्त सगुन शमशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए ।
आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
आयोगमा मुलुकभर ३ सयभन्दा बढी आचारसंहिता उल्लंघनका उजुरी परेका छन् । निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टीकरण सोधिएको आयुक्त जबराले जानकारी दिए । तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टीकरण सोधिएको पनि जबराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्