२०८२ माघ १८

आज देशको पश्चिमी भागमा वर्षा हुने,काठमाण्डौँमा भने वर्षा गराउने सम्भावना अत्यन्त न्यून ।

काठमाण्डौँ, पश्चिमी वायुका कारण आज देशका सुदूरपश्चिमदेखि वर्षा सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार वर्षा गराउने बादल सुदुरपश्चिमका क्षेत्र प्रवेश गरिसकेको र साँझ सुदूरपश्चिम प्रदेशका केही स्थाना तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षासंगै हिमपातको सम्भावना रहेको जनाएको छ ।
आजदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
विभागका अनुसार आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थामा तथा वाग्मती प्रदेशको एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।


त्यसैगरी, कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बदली हुनेछ ।
काठमाण्डौँमा भने वर्षा गराउने सम्भावना निकै न्यून छ । यो प्रणालीको असर शनिबारसम्म मात्रै रहनेछ । त्यसपछि पुनः कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।