२०८२ मंसिर २२

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ।

काठमाण्डौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँएसँगै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । निर्वाचन आउन अब ८८ दिन बाँकी छ ।
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरेको छ । समानुपातिक तर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मंगसिर २४ गते प्रकाशित हुन निर्वाचन आयोगले जनाएको छ ।
यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।
यस्तै, आगामी माघ ३० गते भने समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ ।
उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।