२०८२ माघ ६

आज सर्वमान्य नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस,विविध कार्यक्रम गरी मनाइँदै .

काठमाण्डौ, २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बनेका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।


विसं १९७२ कात्तिक २४ गते काठमाण्डौँको चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । काठमाण्डौँको खानदानी परिवारमा जन्मिएका सिंह विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएको थिए । सिंह जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । पछि विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय काँग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिए ।


२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा रहेर सशस्त्र संघर्ष गरे । २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेले ।


गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहका साथै २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उनले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिए । कम्युनिस्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए ।