आज विश्वकर्मा पूजा, सवारीसाधन, कलकारखाना र औजारहरुको पूजा गरिन्दै ।
काठमाण्डौ‘। आज आश्विन संक्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो विश्वकर्मा पर्व मनाइँदै आइएको छ ।
यो पूजा सृजनात्मक कर्म र नव–निर्माणमा आधारित छ । घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन् । यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् भगवान् विश्वकर्मा ।
विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ । हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका भन्न्े जनविश्वास रहेको छ ।
नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजाको रूपमा मनाइन्छ । यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ, किन कि आजको दिन भगवान् विश्वकर्माको जन्म भएको विश्वास गरिन्छ । यस दिन उद्योग–धन्दा, कारखाना, पसल, मेसिनरी, औजार, सवारीसाधन, भवन निर्माणका उपकरणसम्म पूजा गरिन्छ । मजदुर, शिल्पकार, व्यापारी, प्राविधिक, इन्जिनियर, कलाकार लगायत सम्पूर्ण वर्गले यो दिन विशेष श्रद्धा र भक्ति भावका साथ मनाउँछन् ।
नयाँ सवारीसाधन खरिद गरी विभिन्न शक्ति पीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्यधिक भिड लाग्छ । मन्दिर वा घरमा पूजासँगै विभिन्न औजार, मेसिन, सवारीसाधन, उद्योग–धन्दा आदिलाई पनि पुजागर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने, उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्