बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा विशाल सैन्य परेड ।
काठमाण्डौँ, चीनले आज (बुधबार) राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड गर्दैछ ।
देशको इतिहासकै सबैभन्दा ठुलो यस परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पनि समावेश छन् । यस कार्यक्रममा चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गर्नेछ ।
स्थानीय समयअनुसार बुधवार बिहान ९ बजे (नेपाली समय अनुसार बिहान ६ः४५) बाट सुरु हुने
यस परेडमा चीनको सैन्य शक्तिको भव्य प्रदर्शन हुनेछ, जसमा उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, र फाइटर जेटहरू प्रदर्शन गर्ने भएका छन् । चिनियाँ सैन्य अधिकारीहरूका अनुसार, यस परेडमा जनमुक्ति सेना (पीएलए) का सयौँ विमानहरू प्रदर्शन गरिनेछन् ।
परेडमा ८० बिगुलरहरू उपस्थित हुनेछन्, जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानको पराजय भएको ८० वर्षको सङ्केत गर्नेछ । यसका अतिरिक्त, १ हजार भन्दा बढी सङ्गीतकार १४ लहरमा उपस्थित हुनेछन्, जसले सन् सन् १९३१ मा जापानको मन्चुरिया आक्रमणपछि चीनको प्रतिरोधको प्रत्येक वर्षलाई प्रतिनिधित्व गर्नेछ ।
तियानमेन स्क्वायरमा उपस्थित दर्शकहरूलाई हरियो, रातो र सुनौलो रङका कुर्सीहरूमा बसाइएको छ, जसले क्रमशः उर्वर भूमि, जनताको बलिदान र शान्तिको प्रतीक गर्दछ ।
‘विजय दिवस’ परेडमा ४५ सैनिक टुकडी सहभागी हुनेछन् र यो करिब ७० मिनेटसम्म चल्नेछ, जहाँ उनीहरू बेइजिङको तियानमेन स्क्वायरमा सीको अगाडि मार्च पास गर्नेछन ्। यस अवसरमा सीले सम्बोधन गर्ने पनि कार्यक्रम छ।
गत आइतबार र सोमबार तियानजिनमा भएको संघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्मारका सैन्य प्रमुख मिन आङ ह्लाइङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियान, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ, मंगोलियाका राष्ट्रपति खुरेलसुख उख्ना, उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभ र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को परेडमा सहभागी हुने भएका छन् ।
उत्तर कोरियाका नेता किम जोङ उन पनि मंगलबार बिहान आफ्नो बख्तरबन्द रेलबाट उत्तर कोरिया–चीन सीमा पार गरी चीन आइपुगेका छन् ।
युरोपबाट केवल दुई नेता स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति अलेक्सेन्डर भुसिच मात्रै बेइजिङमा हुने यस कार्यक्रममा सहभागी हुनेछन् ।
जुलाई १९३७ मा बेइजिङबाहिर जापानी र चिनियाँ सेनाहरूबिचको झडपले पूर्ण द्वन्द्वको रूप लियो । त्यसपछि, केएमटी र सीसीपीले जापानविरुद्ध संयुक्त मोर्चा बनाउन सहमत भए । यस युद्धमा हजारौँ चिनियाँ नागरिकको ज्यान गएको थियो ।
सन् १९४५ मा, अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम खसालेपछि जापानले सेप्टेम्बर २ मा औपचारिक रूपमा आत्मसमर्पण गरेको थियो । सन् २०१४ मा, चिनियाँ सरकारले जापानको आत्मसमर्पणपछि सेप्टेम्बर ३ लाई विजय दिवसको रूपमा घोषणा गरेको थियो । सन् २०१५ मा, सीसीपीले युद्धको समयमा केएमटी सैनिकहरूले गरेको बलिदानको सम्मान गर्दै उनीहरूलाई सैन्य परेडमा आमन्त्रित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्