मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड अवरुद्ध, आकस्मिक बाढी आउन सक्ने सम्भावना ।
सिन्धुली, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो ।
गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लोकमार्गको सिन्धुली सडकखण्डमा राति परेको अविरल बर्षाको कारण ओखलढुङ्गाबाट काठमाण्डौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना ७ ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।
गोलञ्जोर गाउँपालिका–६,बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने हुनेछ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनको लागि पहल भइरहेको प्रहरीले बताएको छ । सिन्धुलीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
त्यसैगरी, जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुलीको मरिनखोला कुसुनटार, सिन्धुलीगढी र रामेछापको मन्थली एयरपोर्ट वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको छ ।
शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै विभागले ती क्षेत्रमा बहने ग्वाङ खोला, मरिन खोला लगायतका स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्