आज असार १५, राष्ट्रिय धान दिवस ।

काठमाण्डौँ, आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।
मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदैछ । नेपालीको जीवन पद्धतिमा अभिन्न रहँदै आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले पनि हरेक वर्ष उल्लासपूर्ण उत्सवका रूपमा धान रोपाइँ गरिन्छ ।
यस वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान राम्रो उत्पादन हुने अनुमान कृषि विज्ञले गरेको छ । असार १५ अघि नै पर्याप्त पानी पुगेका स्थानमा धान रोपाइँ सुरु भएको हो ।
पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा पनि यस वर्ष छिट्टै धान रोपाइँ भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १५ देखि कर्णाली, सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भूभागमा राम्रो वर्षा हुँदै छ । यसले पनि धान रोप्न तयार भएका किसानमा खुसी छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनता ः खाद्यसुरक्षा र आत्मनिर्भरता’ रहेको छ ।
सघन धान खेती (बर्खे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउँदै देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षातर्फ अग्रसर गराउने सरकारको लक्ष्य छ ।
चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा कुल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औसत उत्पादकत्वसँगै अघिल्लो वर्षभन्दा ४.०४ प्रतिशतले धान उत्पादनमा बढोत्तरी भएको मन्त्रालयले जनाएको छ ।
नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान अझै अपुग छ । फलस्वरूप गत जेठमा करिब ३८ अर्ब ९४ करोड रुपियाँ बराबरको धान, चामल र कनिका आयात गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्