२०८२ श्रावण १६

मनाङको नासोँ गाउँपालिकाले २०८२/८३ का लागि ल्यायो ३२ करोडको बजेट ।

धारापानी, मनाङको नासों गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ३२ करोड १ लाखको बजेट ल्याएको छ ।
सोमबार गाउँपालिकाका उपाध्यक्ष वेद बहादुर गुरुङले गाउँसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटले पूर्वाधार निर्माण, कृषि तथा पशुपालन, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको उपाध्यक्ष गुरुङले बताए ।
उपाध्यक्ष गुरुङले राजस्व बाँडफाँट (संघबाट) ८ करोड २७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वित्तीय समानीकरण अनुदानका रूपमा ९ करोड ८ लाख, सशर्त अनुदान ८ करोड ८६ लाख प्राप्त हुने अनुमान गरिएको बताए ।
प्रदेशबाट समानीकरण अनुदानमा ६० लाख १९ हजार, राजस्व बाँडफाँटमा ६२ लाख ९६ हजार, सशर्त अनुदान २० लाख, विशेष अनुदान ४०लाख, समपूरक ६० लाख आउने अनुमान छ ।
पालिकाले आन्तरिक स्रोतबाट २५ लाख रुपैयाँ मात्र संकलन हुने अनुमान गरेको छ । बजेटमा खासगरी पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ । कृषि भवन निर्माणका लागि २ करोड र स्वास्थ्य चौकी भवनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, विभिन्न सडक, कल्भर्ट, पुल र खानेपानी आयोजनाहरूका लागि बजेट छुट्याइएको छ भने आर्थिक विकासतर्फ कुल १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आवासीय विद्यालयको गुणस्तर सुधार, प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख रुपैयाँ बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सेवा प्रवाह, निःशुल्क औषधि वितरण र विपन्न तथा असहाय बिरामीलाई उपचारका लागि प्रति व्यक्ति ३० हजार रुपैयाँ आर्थिक सहयोग दिने गरी बजेट तयारी गरिएको छ ।
बजेटमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ९ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कर्मचारी तलब भत्ता, कार्यालय सञ्चालन, मर्मत सम्भार, र अन्य प्रशासनिक कार्यका लागि १० करोड २२ लाख रुपैयाँ छुट्याइएको उपाध्यक्ष गुरुङले बताए ।