आज बागमती प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने
हेटौँडा, आज बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम सार्वजनिक गर्दैछ ।
सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न संसद्को बैठक अपरान्ह १ बजेका लागि आह्वान भएको छ भने नीति कार्यक्रम वाचन गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई औपचारिक निमन्त्रणा समेत गरिएको छ । बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १० मिनेट अगावै उपस्थित् हुन सभामुख भुवनकुमार पाठकले निर्देशन गरेका छन् ।
प्रदेश सरकारले विषयगत मन्त्रालयहरूबाट तयार पारिएको नीति कार्यक्रमलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गरिएको छ ।
कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।
सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ डङ्गका कार्यक्रम ल्याउने तयारीमा रहेको बताए । भद्दा र नारा मात्रै समेटिएको नीति कार्यक्रमको विकल्पमा प्रभावकारी र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी सरकारले तथ्य परक हुने गरी कार्यक्रम तयारी गरेको उनले बताए । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी गरिएको पनि बताए ।
यसअघि प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि संसद्को बुधबार र बिहीबार बसेको बैठकमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्