२०८२ फाल्गुन १४

आजदेखि ‘सगरमाथा संवाद’ सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाण्डौंमा ।

काठमाण्डौं, जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ संवादको प्रमुख नाराका रूपमा तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।
परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सख्यामा नेपाली सहभागी हुने छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ ।उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संगठनको प्रस्तुति रहने छ ।
आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने डा आरजु राणा देउवाले बताइन ।