शीर्ष नेताको बैठक बस्दै, संक्रमणकालीन न्यायबारे छलफल हुने ।

काठमाण्डौँ, संक्रमणकालीन न्यायका सम्बन्धमा छलफलका लागि प्रमुख दलका शिर्ष नेताहरूबीच आज (सोमबार) अपरान्ह बैठक डाकिएको छ ।
बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बताए ।
‘यसअघि सर्च कमिटि गठन भएपछि काम हुन सकेन, त्यसको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध छ,’ पूर्वमहान्यायाधीवक्ता समेत रहेका खरेलले भने, ‘अस्ति जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक डाकिएको हो । बाँकी कुरा उहाँहरूले अघि बढाउनुहुन्छ होला ।’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनपछि सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि उनीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।
अधिल्लो समितिले कुनै निर्णय गर्न नसकेका बेला समितिको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध भएको थियो । कुनै एजेन्डा तय नभएपछि सोमबारको बैठकमा अर्को समिति गठन र त्यही सेरोफेरोको विषयमा छलफल हुने खरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्