स्थानीय तहको चुनाव फागुनमै गर्ने निर्वाचन आयोगको तयारी ।
आनन्द गुरुङ,काठमाण्डौ- स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै आगामी फागुनमा निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग जुटेको छ ।
आयोगले निर्वाचनको मिति तोक्ने तयारीसँगै विदेशमा रहेका नेपाली र आफ्नो मतदाता नामावली भएको जिल्लाभन्दा बाहिर रहेका नागरिकलाई समेत मतदानमा सहभागी गराउने विकल्पबारे अध्ययन गरिरहेको जनाएको छ ।
निर्वाचन आयोगले यसपटकको स्थानीय तह निर्वाचनलाई परम्परागत प्रक्रियामै सीमित नराखी प्रविधिको प्रयोगबाट कसरी बढीभन्दा बढी नागरिकलाई मतदानमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ ।
विदेशमा रहेका नेपालीका लागि हुलाकमार्फत मतपत्र पठाउने, नेपाली नियोगमा मतदानको व्यवस्था गर्ने, निर्वाचनअघि नै मतदान गर्न पाउने तथा सुरक्षित विद्युतीय माध्यमबाट मतदान गर्न सकिने सम्भावनाबारे आयोगले अध्ययन गरिरहेको छ ।
यसका लागि निर्वाचन आयुक्त डा. राजीव सुब्बाको नेतृत्वमा प्रविधि प्रयोगसम्बन्धी कार्यदल र निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको नेतृत्वमा कानूनी सुधार सम्बन्धी छुट्टै समिति गठन गरिएको छ ।
दुवै समितिले आफ्नो अध्ययनलाई अन्तिम चरणमा पु¥याएका छन् । आयोगका अनुसार प्रविधि र कानूनी सुधार सम्बन्धी प्रतिवेदन एक–दुई साताभित्र आयोगमा पेस गर्ने तयारी छ । निर्वाचन आयुक्त डा.सुब्बाका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ ले गाउँसभा वा नगरसभाका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्थालाई आधार बनाएर आयोगले आगामी स्थानीय तहको निर्वाचन फागुनभित्रै गर्ने गरी तयारी अघि बढाएको हो ।
‘स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल वैशाखमा सकिने भएकाले त्यसअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित गर्नुपर्ने संवैधानिक तथा कानूनी बाध्यता छ । त्यसैले आयोगले फागुनभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको हो,’ सुब्बाले भने, ‘निर्वाचनको मिति कहिले तोक्ने भन्ने विषयमा औपचारिक निर्णय हुन बाँकी रहे पनि आयोगको तयारी भने फागुनलाई केन्द्रमा राखेर अघि बढिरहेको छ ।’
निर्वाचनको मिति तोक्ने विषयसँगै आयोगले मतदाता नामावली अद्यावधिक, मतदान प्रक्रियालाई सहज बनाउने उपाय, विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था र कानूनी सुधारका विषयलाई पनि एकसाथ अघि बढाएको छ ।
आयोगका अनुसार अहिले करिब २० देखि २५ लाख नेपाली वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेको अनुमान छ । त्यस्तै, करिब २० देखि २५ लाख नेपाली आफ्नो मतदाता नामावली रहेको जिल्लाभन्दा बाहिर बसोबास गरिरहेको आयोगको अध्ययनबाट पाइएको छ । यसरी हेर्दा ठूलो संख्यामा मतदाता आफ्नो नाम रहेको मतदान केन्द्रसम्म पुग्न नसक्ने अवस्थामा छन् । विदेशमा रहेका नेपालीको हकमा त हालको व्यवस्थाले उनीहरूलाई प्रत्यक्ष रूपमा मतदानमा सहभागी हुने बाटो नै खोल्दैन ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा परराष्ट्र मन्त्रालयमार्फत २७ वटा नेपाली कूटनीतिक नियोगसँग छलफल भइसकेको छ । आयोगले विदेशमा मतदानको व्यवस्था गर्न सम्भावित मोडलका रूपमा हुलाक मतदान, कूटनीतिक नियोगमा मतदान, अग्रिम मतदान र विद्युतीय मतदानलाई अध्ययनको दायरामा राखेको छ,’ सुब्बाले लोकान्तरसँग भने, ‘विदेशमा रहेका नेपालीका लागि सबैभन्दा पहिले हुलाकमार्फत मतपत्र पठाउने वा सम्बन्धित नेपाली कूटनीतिक नियोगमार्फत मतदान गराउने विकल्पमाथि अध्ययन भइरहेको छ । यसो गर्दा निर्वाचनको दिन नेपाल वा विदेशमा आफ्नो नियमित मतदान केन्द्रमा पुग्न नसक्ने मतदाताले पहिले नै मतदान गर्न सक्ने व्यवस्था गर्न सकिन्छ,’ सुब्बाले थपे, ‘त्यसभन्दा अगाडि बढेर सुरक्षित सूचना प्रविधिको प्रयोग गरी मोबाइल वा वेबसाइटमार्फत मतदान गर्न सकिने सम्भावनासमेत अध्ययन भइरहेको आयुक्त डा. सुब्बाले जनाए ।’
निर्वाचनलाई विश्वसनीय बनाउन आयोगले मतदाता नामावली शुद्धीकरणलाई पनि प्राथमिकतामा राखेको छ । भदौ १५ गतेसम्म संकलन भएका विवरणलाई आधार बनाएर अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ । असोज मसान्तभित्र नयाँ अद्यावधिक मतदाता नामावली सार्वजनिक गर्ने तयारी आयोगको छ ।
आयुक्त सुब्बाका अनुसार यसपटक आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर पञ्जीकरण सम्बन्धी विवरण रुजु गर्ने व्यवस्था मिलाएको छ । यसका लागि बीचमा करिब ४५ दिनको समय राखिएको छ ।
यस अवधिमा पञ्जीकरण विभागको विवरणसँग मतदाता नामावली रुजु गरी मृतक तथा दोहोरो विवरण हटाउने काम गरिनेछ । त्यसपछि प्रकाशन हुने नामावलीलाई थप अद्यावधिक र शुद्ध बनाउने आयोगको लक्ष्य रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्