आज चैते दशैं, शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
काठमाण्डौ‘, आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ । तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा मान्यता दिने गरिन्छ । बाँकी २ किसिमका दशैं भने आफैँमा प्रायः विलुप्त छन् ।
मध्यकालीन नेपालमा ४ किमिसको दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र अहिले लोपोन्मुख अवस्थामा छ । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । जसमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद्हरु बताउँछन् ।
चैत्र शुक्ल पक्षको १० दिन चैते दशैं भनेर मनाउने गरिन्छ । जुन शारदीय नवरात्रको तुलनामा अत्यन्त कम महत्वको पर्व हो । तर, यसरी नै कम महत्वपूर्ण हुँदाहुँदै अस्तित्वविहीन बनेका दुई वटा गुप्त नवरात्रका बारेमा भने धेरै बेखबर छन् । यद्यपि अहिलेसम्म पनि अत्यन्त नियममा रहने तान्त्रिकहरूले भने नियमित चारै किसिमको दशैं मनाउने गर्छन् ।
अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेडाको प्रतीकको रूपमा चढाउने गरिन्छ । शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ ।
‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।’


प्रतिक्रिया दिनुहोस्