२०८२ चैत्र ४

आज घोडेजात्रा मनाइदै

काठमाण्डौँ, काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा आज (बुधबार ) परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ ।
घोडेजात्रा पवलाई पिशाच चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्ष चैत कृष्ण औँसी तिथिमा काठमाण्डौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।
किंवदन्ती अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यसै गरी सहरका बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
काठमाण्डौँ उपत्यकाको तीन शहरमा भव्य रूपमा घोडेजात्रा मनाइने गरिन्छ । तीन दिन चल्ने सो चाडको अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खट सहरमा परिक्रमा गराउने र छ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने चलन छ । यस कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको पनि किंवदन्ती छ ।