२०८२ फाल्गुन ११

बुद्ध एयरको विमान चन्द्रगढी विमानस्थलमा दुर्घटना, सहचालक सहित सातजना घाइते ।

चन्द्रगढी,झापाको भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे बुद्ध एयरको विमान दुर्घटना भएको छ । दुर्घनामा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन् ।
काठमाण्डौँबाट भद्रपुरका लागि उडेको ९०१ को बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
जहाजमा ५१ जना यात्री, चारजना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाण्डौँ–१६ की ४० वर्षीया मुना घतानी र काठमाण्डौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो ।
टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए ।
उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो ।