२०८२ फाल्गुन ११

आन्तरीक हवाई भाडा घट्यो,नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा तोक्यो ।

काठमाण्डौँ, इन्धनको मूल्यमा गिरावटसँगै आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ । देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक रुटमा हवाई भाडा घटाइएको हो ।
बुधबार (पुस १६) नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा घटाएको हो ।
नयॉ भाडा दर अनुसार माउन्टेन फ्लाइटको भाडा २१० रुपैयॉ घटाएर प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी काठमाण्डौं–भद्रपुरमा प्रतियात्रु १८० ले भाडादर घटाउँदै तीन हजार ८४५ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–विराटनगरमा १४० ले भाडादर घटाउँदै तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं–पोखरामा दुई हजार ३०, काठमाडौं–भैरहवामा दुई हजार ६३५, काठमाडौं–नेपालगन्जमा चार हजार १७०, काठमाडौं–धनगढीमा पाँच हजार ६५५, काठमाडौं–तुम्लिङटारमा दुई हजार ३६०, काठमाडौं–सिमरामा एक हजार १५०, काठमाडौं–सुर्खेतमा चार हजार ४२० र काठमाडौं–राजविराजमा दुई हजार ६१५ रुपैयाँ भाडादर कायम गरिएको प्राधिकरणले जनाएको छ ।