२०८२ कार्तिक २७

नेकपा एमाले नेता महेश बस्नेतले भ्रम छर्यो : सुदन गुरुङ

काठमाण्डौँ, हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर एमाले नेता महेश बस्नेतले भ्रम छरेको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारेका छन् ।
हामी नेपालले प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको कुराकानी नै नभएको जानकारी गराएको छ ।
गत शुक्रबार एमाले नेता महेश बस्नेतले सुदन गुरूङ एमालेमा प्रवेश गर्ने लागेको भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए।
‘उनी एमाले आउँछन् जस्तो लाग्छ । अलिअलि कुराकानी भएको थियो । मलाई सुरक्षा थ्रेट भयो भनेर उनी र उनीसँगै हिँड्ने बब्लु लगायत ठूलो टिम हामीसँग सम्पर्कमा छन् । उनीहरू चाँडै नै एमाले आए भने तपाईंहरू अचम्मित नमान्नुस्,’ बस्नेतले भनेका थिए ।
त्यसपछि हामी नेपालले विज्ञप्ती जारी गर्दै एमाले नेता बस्नेतले झुटो प्रचार गरेको बताएको हो । बस्नेतको उक्त दाबीले हामी नेपालले फोहोरी राजनीतिक खेल र जनतालाई धोका दिने निर्लज्ज प्रयास भनेको छ ।
‘सुदन गुरूङले महेश बस्नेतसँग अहिलेसम्म कुराकानी गरेका छैनन् । गर्ने पनि छैनन्,’ विज्ञप्तीमा भनिएको छ।
परिवर्तनका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएको समयमा भ्रम नछर्न पनि हामी नेपालले नेता बस्नेतलाई आग्रह गरेको छ । नेता बस्नेतको दाबीबाट प्रभावित नहुन सबैलाई हामी नेपालले अनुरोध गरेको छ ।