२०८२ बैशाख ८

आज पाँच प्रदेशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना ।

काठमाण्डौँ, पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायूको समेत आंशिक प्रभावका कारण आज पनि देशका विभिन्न ठाउँको मौसम बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएको छ ।
लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ ।
साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । यसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकोले सतर्क रहन अनुरोध गरिएको छ ।