२०८१ चैत्र ५

होलीको फोटो खिच्न चिनीयाँ फोटोग्राफर टोली नेपालमा ।

काठमाण्डौँ, रङ्गोत्सवलाई लक्षित गरी एक सय जना चिनियाँ फोटो पत्रकार र फोटोग्राफर पनि नेपाल आएका छन् ।
मित्रता, सद्भाव र प्रेम साटासाट गर्ने पर्व होलीमा सहभागी हुन र रङ्गोत्सवलाई आफ्नो क्यामरामा कैद गर्न उत्तरी छिमेकी चीनबाट एक सय जना फोटो पत्रकार र फोटोग्राफर नेपाल आएका हुन् ।
संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको टोली नेपाल आएको हो । सरकारले पर्यटन प्रवर्धनमार्फत आर्थिक विकासको अवधारणा अनुसार पर्यटक आकर्षित गर्न चरणबद्ध कार्यक्रम गरिरहँदा होलीपर्वलाई लक्षित गरी चाइना–नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहले चीनको पत्रकार टोलीलाई निमन्त्रणा गरेको हो ।
चीनको विभिन्न प्रान्तबाट आएका फोटोग्राफरले नेपालको रङ्गीन पर्वलाई विश्वसामु पु¥याउने आयोजकको विश्वास छ । पछिल्लो दशकमा चीनबाट नेपाल आउने पर्यटकको सख्या वृद्धि भइरहँदा होलीपर्वको उल्लाससँग फोटो पत्रकार पनि जोडिएका हुन् ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तका अनुसार ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रम अन्तर्गत टोली नेपाल आएको हो । उहाँले भन्नुभयो, “चिनियाँ चर्चित फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्धन गर्ने छन् । फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङमय नेपालको फोटो खिच्ने छन् ।”
अध्यक्ष वन्तका अनुसार होलीका दिन चिनियाँ टोली बिहान ८ बजे वसन्तपुर पुग्ने कार्यक्रम छ । सबै जनाले रङको पर्व होली खेल्ने र फोटो खिच्ने छन् । त्यसपछि टोलीलाई तीन समूहमा बाँडेर भक्तपुर, ललितपुर र काठमाण्डौँको होलीपर्वलाई अवलोकन गर्ने र फोटो खिच्ने कार्यक्रम रहेको उनले बताए । ती फोटाहरू चीनमा प्रदर्शनी गरिने तथा अनलाइनमा राखिने छ । नेपालको संस्कृति र परम्पराको फोटोमार्फत प्रचारप्रसार गरी नेपालको पर्यटन क्षेत्रलाई विकास गर्ने मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा गरिएको हो । नेपालको पर्यटन प्रवर्धनका लागि यो एक महìवपूर्ण अवसर हुने जनाइएको छ । नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पु¥याउन यस्तो कार्यक्रमले विशेष योगदान पु¥याउने विश्वास लिइएको छ ।