२०८२ असार ३

नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन भक्तपुरमा सुरु हुँदै ।

भक्तपुर, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आज(केही बेर पछि)बाट सुरू हुँदैछ । फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाण्डौँ उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।
महाधिवेशनको उदघाटन समारोह दिउँंसो १ बजे सल्लाघारीमा हुनेछ । आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाण्डौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहित निकालिने ¥याली उदघाटन समारोह स्थल सल्लाघारी पुगेर सभामा परिणत हुनेछ ।
आजैबाट सुरु हुने बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
पार्टी अध्यक्ष विजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।
पार्टीको सातौं महाधिवेशनसम्म पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नै सर्वसम्मत अध्यक्ष चुनिँदै आएका छन् । यस वर्षको आठौं महाधिवेशनले बिजुक्छेलाई नै निरन्तरता दिन्छ वा नयाँ नेतृत्व चुन्छ भन्ने चासो राजनीतिवृत्तमा छ ।