२०८२ बैशाख ८

रोल्पामा नेपाली काँग्रेस बौरिदै, नेकपा माओवादी खुम्चीदै ।

सशस्त्र युद्धको समय रोल्पा नेपाली काँग्रेसका नेता कार्यकर्ता गाउँ बस्ने अवस्था थिएन । त्यो समय रोल्पा काँग्रेसले आफ्ना १२२ नेता कार्यकर्ता गुमाएको थियो ।
नेपाली काँग्रेसमा संगठित भएकै आधारमा माओवादीको निशानामा पर्ने भयले नेपाली काँग्रेसमा आबद्धता त्याग्नेको संख्या उल्लेख्य थियो । शान्तिप्रक्रिया सुरु भएसँगै ब्युँतन थालेको रोल्पा काग्रेसका संगठनमा आबद्ध क्रियाशील सदस्यको संख्या अहिले चार हजार ६ सय नाघिसकेको छ ।
अहिले रोल्पाका सबै (७२) वडामै नेपाली काँग्रेस संगठन विस्तार भएको छ । काँग्रेसको संगठन सबै वडा (जिल्लाभर कूल ७२ वडा) मा बनेको छ । संघ र प्रदेशमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको काँग्रेसले पालिकामा भने शक्ति बढाउँदै लगेको छ ।
गत स्थानीय तहको निर्वाचनमा १० पालिकामध्ये रुन्टीगढी र सुकीदह पालिकामा अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ ।
सुकिदहमा अध्यक्ष र उपाध्यक्ष सहित पाँच वडा जिताएका ७० वर्षीय पूर्व कर्मचारी मीनबहादुर खड्का पार्टी सभापतिको भूमिका छन् । २०७४ र २०७९ सालको स्थानीय तहको नजिताले पनि उक्त पालिकामा काँग्रेसको शक्ति बढिरहेको स्पष्ट हुन्छ ।
सुकिदहमा २०७४ सालमा एउटा वडामात्रै जितेको काँग्रेसले गत चुनावमा भने अध्यक्ष, उपाध्यक्षसहित पाँच वडाध्यक्षमा जित निकालेको छ । युद्धकालीन समयमा शरणार्थीको जस्तो जीवन बिताएको स्मरण गर्दै काँग्रेस सुकिदहका सभापति खड्का भन्छन्, ‘अहिले त काँग्रेसको अवस्था एकदमै राम्रो छ, हामी अझै विस्तारित हुन्छौं ।’
रोल्पामा माओवादी केन्द्र पहिलो दल हो भने नेपाली काँग्रेस दोस्रो । २०६४ सालयता भएका निर्वाचनमा नेपाल िकाँग्रेसका उम्मेदवारले मतान्तर निरन्तर घटाउँदै लगेका छन् ।
अहिले स्थानीय सत्ता चलाउने जिम्मा पाएपछि काँग्रेसले पालिकाको नाम उल्ट्याइदिएको छ । तल्लो तहबाट आएका सिफारिसका आधारमा संघीय सरकारले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह नै कायम गरेको छ । अहिले नाम परिवर्तनको यो विवाद अदालत पुगेको छ ।
जिल्लामा निक्कै राम्रो अवस्थामा रहेको रोल्पा काँग्रेसलाई पार्टी केन्द्रले नै सही मूल्यांकन गर्न नसकेको नेता कार्यकर्ताको बुझाइ रहेको छ ।
माओवादीको उद्गम थलोको परिचय बनाएको थवाङमा नेपाली काँग्रेस बिस्तार गर्न खटिरहेका स्थानीय नेता कार्यकर्ता केन्द्रसँग रुष्ट देखिन्छ । माओवादीको दबदबा रहेको थवाङका काँग्रेस सभापति खरिलाल डाँगीसँग गुनासोसँगै असन्तुष्टि पनि व्यक्त गरे ।
थवाङमा काँग्रेस छ र यहाँ काँग्रेस बन्न कति मुस्किल छ भनेर केन्द्रीय नेताहरूले नै बुझ्न नसकेको उनको गुनासो छ । जनप्रतिनिधि र पार्टीबीच समन्वय नभएको गुनासो केन्द्रदेखि वडा तहसम्मका कांग्रेस पंक्तिभित्र छलफल हुने गरेको छ । जनप्रतिनिधि भइसकेपछि पार्टीको सुझाव र परामर्श बेवास्ता गर्ने गरेको अधिकांश नेता कार्यकर्ता गुनासो गर्छन् ।
अर्कोतर्फ, जनप्रतिनिधि सबैको हुनुपर्ने र सीमित स्रोत साधनबाट असीमित काम गर्नुपर्ने बाध्यता पार्टी पंक्तिले नबुझेको जनप्रतिनिहरू गुनासो गर्छन् ।
नेपाली काँग्रेस सुकिदह सभापति खड्का रोल्पामा भने पार्टी र जनप्रतिनिधि अविश्वासको वातावरण नभएको सुनाउँछन् । एकपक्षीय ढंगले काम गर्ने माओवादी आर्थिक अनियमिततामा पनि मुछिँदै गएकाले मत गुमाइरहेको रोल्पा काँग्रेसको विश्लेषण छ । युद्धकालमा माओवादीले देखाएको सपना र अहिलेको व्यवहारमा आकाश जमिनको फरक रहेको काँग्रेसको बुझाइ छ । त्यसैले रोल्पामा संगठन विस्तार गर्न काँग्रेसलाई सहयोग पुगेको छ । यसैले पार्टी केन्द्रले अतिकत्ति समन्वय गरी अधि बडे रोल्पामा मात्र होइन माओवादी आधार क्षेत्रमा पहिलो पार्टी बन्न सकिने रोल्पाली नोपाली काँग्रेसका नेता तथा समर्थकको बुझाइ छ ।