अमेरिकाद्वारा २६ नेपाली डिपोर्ट, डिपोर्ट हुनेको संख्या बढ्दो ।

काठमाण्डौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकाबाट २६ जना नेपाली डिपोर्ट भएका छन् ।
अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिए पछि जनवरी २० देखि फेव्रुअरी २४ सम्मको ३६ दिनको अवधिमा ट्रम्प प्रशासनले २६ जना नेपालीलाई डिपोर्ट गरेको हो ।
अमेरिकाबाट डिपोर्ट भइ आएका सबैलाई हामीले प्रहरीलाई बुझाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सिता परियारले बताइन ।
सोमबार मात्र अमेरिकाबाट डिपोर्ट भएर एक जना नेपाली आएको उनले बताइन् । डिपोर्ट गरेकाहरूसँग अमेरिकी अध्यागमनले एउटा कागज पठाउने गरेको छ जहाँ उनीहरूलाई डिपोर्ट गर्नुको कारण उल्लेख गरिएको हुन्छ ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र विना भिसा बसेको, जस्ता आरोप डिपोर्ट भएकाहरूलाई लगाइएको पत्रमा उल्ल्ोख छ ।
डिपोर्ट भएकाहरूलाई विमानस्थलमै प्रहरीले खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानवतस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम गर्ने गर्छ ।
अध्यागमन विभाग स्रोतका अनुसार, ट्रम्पले अमेरिकाको सत्ता सम्हालेपछि डिपोर्ट गर्ने तरिका भने केही फेरिएको छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाई गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवाशीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लागेको छ ।
अन्य देशमा जस्तै अमेरिकाले एकसाथ ठूलो संख्यामा नेपालीलाई सैन्य विमानमा राखी नेपाल ल्याउँदै छाडेको भने छैन । तर, दैनिक एकजना जस्तो नेपालीलाई भने डिपोर्ट गरी पठाइरहेको अध्यागमन विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्