परराष्ट्रमन्त्री डा. राणा स्वीट्जरल्याण्डको जेनेभा जाँदै ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिन आज (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् ।
उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ । मन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसंघीय निकाय र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री डा. राणाले संयुक्त राष्ट्रसघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउने छन् ।
उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित् संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्